नुवाकोट, पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दुप्चेश्वर गाउँपालिकाको तेस्रो सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले कमल खतिवडा (मनिष) को अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत गठन गरेको छ।
यस्तै गाउँपालिका उपाध्यक्षमा तीनजना निर्वाचित भएका छन्। माओवादीका अनुसार उपाध्यक्षमा दावा तामाङ, काले तामाङ र मानबहादुर तामाङ निर्वाचित भएका हुन् । सचिवमा दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका राजकुमार श्रेष्ठ, सहसचिवमा जितमान तामाङ र त्यस्तै कोषाध्यक्षमा
जोगमाया तामाङ सर्वसम्मत चयन भएको जनाइएको छ। ।
सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका नेता, सोही क्षेत्रका निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङ थिए। यस्तै विशिष्ट अतिथिको रूपमा केन्द्रीय सदस्य तथा सांसद बिमला सुवेदी, वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इञ्चार्ज हिरानाथ खतिवडा, वाग्मती प्रदेश पार्टी उपाध्यक्ष रामप्रसाद ढुङ्गाना, र जिल्ला पार्टी संयोजक पुष्प लामिछाने लगायतका नेताहरू सहभागी थिए। कार्यक्रमको समापन जनवादी गायक नवीन खड्काको प्रस्तुति सहित भएको थियो।
दुप्चेश्वर गाउँपालिका माओवादी केन्द्रको पकड़ क्षेत्र समेत हो। यो क्षेत्रलाई माओवादी जनयुद्धको र संगठनको आधार क्षेत्रका रूपमा लिने गरिन्छ ।
तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा गत संघीय निर्वाचनमा हितबहादुर तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसै पालिका अन्तर्गत पर्ने नुवाकोट १ ' क' मा प्रदेशसभा सदस्यतर्फ नेत्री राधिका तामाङ विजयी भइन्। गत निर्वाचनमा हितबहादुर तामाङले सांसद निर्वाचित हुनुमा यस गाउँपालिकाको मतले महत्त्वपूर्ण र निर्णायक भूमिका खेलेको थियो । अन्य सबै स्थानीय तहहरूको मतगणना हुँदा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बद्री मैनाली र तामाङको हाराहारी जस्तो मत आएकोमा अन्तिममा गणना भएको दुप्चेश्वरको मतान्तरनै निर्णायक जीत हुन पुग्यो।
माओवादी पार्टीभित्र जातिवादको आरोप समेत उठिरहेको छ। हितबहादुर तामाङलाई तामाङ समुदायका नेताको राजनीतिक संरक्षण गर्दै अन्य जाति समुदायका व्यक्ति तथा सदस्यलाई पेल्ने गरेको आरोप लाग्ने गरेको छ। तथापि तामाङ बाहुल्य दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष र पार्टी कमिटीका अध्यक्षनै गैरतामाङ समुदायका हुन्। हाल निर्वाचित भएका पार्टी कमिटी अध्यक्ष कमल खतिवडा र गाउँपालिका अध्यक्षमा माओवादीबाट टिकट लिई विजयी शंकरबहादुर थापा दुवै (गैर तामाङ) समुदायका हुन्। यी दुवै कारणले माओवादीभित्र जातिवाद व्याप्त छ र हितबहादुर तामाङले जातिवादी राजनीति गर्छन् भन्ने आरोपलाई खण्डन गर्ने आधार प्रस्तुत गरेका छन्।
यद्यपि, केही नेताहरूले पार्टीभित्र जातिवाद र भ्रष्टाचार मौलाएको आरोप लगाउँदै पार्टी परित्याग गर्न थालेका छन्। पार्टीका पुराना नेता धनबहादुर मिजारले हालै माओवादी पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले पार्टी परित्याग गर्नुको प्रमुख कारण पार्टीभित्र कार्यकर्ताको उचित मूल्याङ्कन नहुनु, जनयुद्धको उद्देश्यबाट पार्टी विचलित हुनु र जातिवाद मौलाउनुलाई कारण देखाएका थिए। अन्य धेरै पुराना नेता तथा कार्यकर्ताहरू पनि पार्टी नेतृत्वसँग रुष्ट रहेको बताइन्छ । नेपाली काङ्ग्रेसभित्र परिवारवाद र माओवादी केन्द्रभित्र जातिवाद फैलिँदै गएको बताइन्छ ।
दुप्चेश्वर गाउँपालिकाको यस सम्मेलनले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्दै गाउँपालिकामा माओवादी केन्द्रको संगठनात्मक बल सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Comments
Post a Comment