Skip to main content

माओवादी आधार इलाका दुप्चेश्वरमा पार्टीको गाउँपालिका सम्मेलन सम्पन्न

नुवाकोट, पुस १५ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दुप्चेश्वर गाउँपालिकाको तेस्रो सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलनले कमल खतिवडा (मनिष) को अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका समिति सर्वसम्मत गठन गरेको छ।


यस्तै गाउँपालिका उपाध्यक्षमा तीनजना निर्वाचित भएका छन्। माओवादीका अनुसार उपाध्यक्षमा दावा तामाङ, काले तामाङ र मानबहादुर तामाङ निर्वाचित भएका हुन् । सचिवमा दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष समेत रहेका राजकुमार श्रेष्ठ, सहसचिवमा जितमान तामाङ र त्यस्तै कोषाध्यक्षमा

जोगमाया तामाङ सर्वसम्मत चयन भएको जनाइएको छ। ।



सम्मेलनका प्रमुख अतिथि माओवादी केन्द्रका नेता, सोही क्षेत्रका निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हितबहादुर तामाङ थिए। यस्तै विशिष्ट अतिथिको रूपमा केन्द्रीय सदस्य तथा सांसद बिमला सुवेदी, वाग्मती प्रदेशसभा सदस्य राधिका तामाङ, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला पार्टी इञ्चार्ज हिरानाथ खतिवडा, वाग्मती प्रदेश पार्टी उपाध्यक्ष रामप्रसाद ढुङ्गाना, र जिल्ला पार्टी संयोजक पुष्प लामिछाने लगायतका नेताहरू सहभागी थिए। कार्यक्रमको समापन जनवादी गायक नवीन खड्काको प्रस्तुति सहित भएको थियो।


दुप्चेश्वर गाउँपालिका माओवादी केन्द्रको पकड़ क्षेत्र समेत हो। यो क्षेत्रलाई माओवादी जनयुद्धको र संगठनको आधार क्षेत्रका रूपमा लिने गरिन्छ ।


तामाङ समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा गत संघीय निर्वाचनमा हितबहादुर तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यसै पालिका अन्तर्गत पर्ने नुवाकोट १ ' क' मा प्रदेशसभा सदस्यतर्फ नेत्री राधिका तामाङ विजयी भइन्। गत निर्वाचनमा हितबहादुर तामाङले सांसद निर्वाचित हुनुमा यस गाउँपालिकाको मतले महत्त्वपूर्ण र निर्णायक भूमिका खेलेको थियो । अन्य सबै स्थानीय तहहरूको मतगणना हुँदा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बद्री मैनाली र तामाङको हाराहारी जस्तो मत आएकोमा अन्तिममा गणना भएको दुप्चेश्वरको मतान्तरनै निर्णायक जीत हुन पुग्यो। 


माओवादी  पार्टीभित्र जातिवादको आरोप समेत उठिरहेको छ। हितबहादुर तामाङलाई तामाङ समुदायका नेताको राजनीतिक संरक्षण गर्दै अन्य जाति समुदायका व्यक्ति तथा सदस्यलाई पेल्ने गरेको आरोप लाग्ने गरेको छ। तथापि तामाङ बाहुल्य दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष र पार्टी कमिटीका अध्यक्षनै गैरतामाङ समुदायका हुन्। हाल निर्वाचित भएका पार्टी कमिटी अध्यक्ष कमल खतिवडा र गाउँपालिका अध्यक्षमा माओवादीबाट टिकट लिई विजयी शंकरबहादुर थापा दुवै (गैर तामाङ) समुदायका हुन्। यी दुवै कारणले माओवादीभित्र जातिवाद व्याप्त छ र हितबहादुर तामाङले जातिवादी राजनीति गर्छन् भन्ने आरोपलाई खण्डन गर्ने आधार प्रस्तुत गरेका छन्। 


यद्यपि, केही नेताहरूले पार्टीभित्र जातिवाद र भ्रष्टाचार मौलाएको आरोप लगाउँदै पार्टी परित्याग गर्न थालेका छन्। पार्टीका पुराना नेता धनबहादुर मिजारले हालै माओवादी पार्टी छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले पार्टी परित्याग गर्नुको प्रमुख कारण पार्टीभित्र कार्यकर्ताको उचित मूल्याङ्कन नहुनु, जनयुद्धको उद्देश्यबाट पार्टी विचलित हुनु र जातिवाद मौलाउनुलाई कारण देखाएका थिए। अन्य धेरै पुराना नेता तथा कार्यकर्ताहरू पनि पार्टी नेतृत्वसँग रुष्ट रहेको बताइन्छ । नेपाली काङ्ग्रेसभित्र परिवारवाद र माओवादी केन्द्रभित्र जातिवाद फैलिँदै गएको बताइन्छ ।


दुप्चेश्वर गाउँपालिकाको यस सम्मेलनले भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी गर्दै गाउँपालिकामा माओवादी केन्द्रको संगठनात्मक बल सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Comments

Popular posts from this blog

हराएको पर्स सुरक्षाकर्मीको सक्रियतामा सकुशल फिर्ता

नुवाकोटको त्रिशूलीबाट काठमाडौं आउँदै गरेको इ.भी. जम्बो हाइसमा यात्रा गरेका शिवपुरी गाउँपालिका-५ निवासी श्री कृष्ण पोखरेलको पर्स हराएको थियो। उक्त पर्समा रु. १०,०६० नगद सहित महत्त्वपूर्ण कागजातहरू रहेका थिए। यात्राका क्रममा पर्स छुटेको जानकारी गुर्जे चौकीमा पुगेपछि चौकीका इन्चार्ज राम बहादुर घिसिङ नेतृत्वको टोलीले तुरुन्तै चेकजाँच गर्यो। खोजतलासका क्रममा सोही गाडीभित्र पर्स फेला परेको थियो। पर्स फेला परेपछि सुरक्षाकर्मीहरूले श्री कृष्ण पोखरेललाई खबर गरेका थिए। उनी काठमाडौंतर्फ यात्रा गरिसकेकाले उनका छोरा गोकुल पोखरेललाई चौकीमा बोलाई आवश्यक प्रमाणिकरणपछि पर्स हस्तान्तरण गरियो। यो घटनाले सुरक्षाकर्मीहरूको ईमानदारिता, सक्रियता तथा जनसेवाप्रति समर्पण झल्काएको छ। पर्स फिर्ता पाएपछि पोखरेल परिवारले सुरक्षाकर्मीलाई धन्यवाद व्यक्त गरेको छ।

कान्छी माया तामाङ फाउन्डेशन: शिक्षा मार्फत उज्जवल भविष्यको यात्रा

शिक्षा र समाजसेवामा समर्पित  कान्छी माया तामाङ फाउन्डेशन ले कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको छ। संस्थाको सहयोगमा पहिलो पटक  डिप्लोमा इन फार्मेसी  अध्ययन गरेका  बुद्ध तामाङ ले आफ्नो अध्ययन पूरा गरी अब फाउन्डेशनसँगै समाजसेवामा सक्रिय भई सेवा गर्ने संकल्प गरेका छन्। संस्थाले हालसम्म  नर्सिङ, डाक्टर, हेल्थ असिस्टेन्ट, प्लस टू साइन्स, होटल म्यानेजमेन्ट, र कानुन (ल)  जस्ता विषयहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई आवश्यक सहयोग गर्दै आइरहेको छ। संस्थाका प्रतिनिधिहरू भन्छन्,  "हाम्रो लक्ष्य शिक्षा मार्फत समाज रूपान्तरण गर्नु हो। अध्ययनपछि विद्यार्थीहरूले समाजसेवामा योगदान दिन सकून् भन्ने हाम्रो मुख्य उद्देश्य हो।" स्थानीय निकाय र दातृ संस्थासँग सहकार्य गर्दै  कान्छी माया तामाङ फाउन्डेशन ले आगामी दिनमा अझ धेरै विद्यार्थीहरूलाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य लिएको छ। इच्छुक विद्यार्थीहरू तथा सहयोग गर्न चाहनेहरूका लागि फाउन्डेशन सधैं सहयोग गर्न तत्पर रहेको छ।

जालपा देवी मन्दिर: देविघाटको ऐतिहासिक र धार्मिक धरोहर

नुवाकोट जिल्लाको देविघाटमा अवस्थित जालपा देवी मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो। यो मन्दिर त्रिशुली र तादी खोलाको संगमस्थलमा रहेको पवित्र स्थलको रूपमा परिचित छ। यहाँको वातावरण शान्त र रमणीय छ, जसले आगन्तुकलाई आकर्षित गर्दछ। मन्दिर परिसरमा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ। उदाहरणका लागि, एकादशी जात्रामा यहाँ ठूलो भीड लाग्ने गर्दछ। यस अवसरमा स्थानीय समुदाय र आगन्तुकहरू एकत्रित भएर धार्मिक अनुष्ठान र सांस्कृतिक क्रियाकलापमा सहभागी हुन्छन्।  मन्दिरको संरचना र वातावरणले आगन्तुकलाई आध्यात्मिक शान्ति र सांस्कृतिक समृद्धिको अनुभव प्रदान गर्दछ। यहाँको ऐतिहासिक र सांस्कृतिक महत्वले यसलाई नुवाकोट जिल्लाको प्रमुख धार्मिक स्थलहरूको रूपमा स्थापित गरेको छ।