नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ४, डाँडाखर्कमा रहेको श्री पञ्चासे माध्यमिक विद्यालयले शुक्रबार आफ्नो ४९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हुनुहुन्थ्यो भने सभापतिको भूमिका विद्यालयकी प्रधानाध्यापक रिता बानियाँले निर्वाह गर्नुभएको थियो। कार्यक्रम सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक रविन्द्र पौडेलले गर्नुभएको थियो भने अतिरिक्त कार्यक्रमहरूका सञ्चालनमा शोभराम सर संलग्न रहनुभएको थियो।
कार्यक्रममा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ, जसमा शिक्षक- अभिभावक संघका अध्यक्ष नवराज चालिसे रहनुभएको छ। कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यार्थीहरूले विभिन्न विधामा नृत्य, गायन, कविता वाचन जस्ता आकर्षक प्रस्तुति दिएका थिए। उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीहरूलाई प्रमुख अतिथिको हातबाट पुरस्कार वितरण गरिएको थियो।
विद्यालयको यो महत्वपूर्ण वार्षिकोत्सवले शैक्षिक विकासको प्रतिबिम्ब प्रस्तुत गर्दै आगामी दिनमा अझ राम्रो प्रगति गर्ने अपेक्षा गरिएको छ।

Comments
Post a Comment